काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । उजुरीमा चितवनको प्रतिनिधिसभा क्षेत्र नं. २ को उनको उम्मेदवारी खारेज गर्न माग गरिएको छ ।
विदेशी नागरिकता ग्रहणपछि नेपालको नागरिकता त्याग गर्नुपर्नेमा लामिछानेले त्यसो नगरेको भन्दै राजकुमार पाण्डेले लामिछानेविरुद्ध उजुरी गरेका हुन् ।
सञ्चारकर्ममा फर्कनुअघि लामिछाने लामो समय अमेरिका बसेका थिए ।
निर्वाचन आयोगले लामिछानेविरुद्ध मंगलबार उजुरी परेको र त्यसमा उनको उम्मेदवारी खारेज गर्न माग गरिएको जनाएको छ ।
उजुरी परेसँगै चितवन क्षेत्र नं. २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरिएको छ ।
अब निर्वाचन अधिकृतले लामिछानेसँग यसबारे स्पष्टीकरण सोध्नेछन् । स्पष्टीकरणपछि यसबारे थप निर्णय हुने आयोगले जनाएको छ ।
केही महिनाअघि राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका लामिछाने चितवन क्षेत्र नम्बर २ खबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।