काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायित्व र स्थिरताको लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । आइतबार(आज) पोखरामा आयोजित पाँच दलीय गठबन्धनको चुनावी सभालाई गर्दै उहाँले गठबन्धन आफ्नो दललाई सबभन्दा आवश्यक भएको बताउनुभएको हो ।
उहाँले गठबन्धन बनेपछि पोखराको अवस्था फेरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धन बन्नु अगाडि कस्तो अवस्था थियो ? आज कांग्रेसको नेतृत्वमा सरकार छ, सबै पार्टी सहभागी भएका छन् । त्यसकारण कांग्रेसका साथीहरुबाट गठबन्धनलाई शंका उपशंका गर्ने काम गर्नु हुँदैन ।’
ओलीले संसद भंग परेपछि गठबन्धन बनेको र अरु दल उदार भएर कांग्रेसलाई सरकारको नेतृत्वमा ल्याएकाले गठबन्धनलाई सफल पार्नु आफूहरुको कर्तव्य भएको बताउनुभयो ।
ओली स्वयं र उहाँले नेतृत्व गरेको पार्टी प्रजातन्त्र, गणतन्त्रको खिलापमा रहेको देउवाले बताउनभयो । देउवाले भन्नुभयो, ‘स्थायित्व स्थिरताका लागि गठबन्धनलाई जिताउनु पर्छ । ओलीले जित्यो भने संसद भोलि नै भंग गरिदिनसक्छ ।’
प्रधानमन्त्री देउवाले संसद्मा कांग्रेसको विरोध सहन नसकेर ओलीले संसद् भंग गरेको पनि बताउनुभयो । ‘ओलीको आतंकी शासन कस्तो भने संसद्को विरोध गर्यो भने संसद् नै भंग गरिदिने । संसद् चल्न नदिने । संसदीय व्यवस्था मान्नेखाले पनि होइनन् ओलीजी,’ उहाँले भन्नुभयो ।