Get Our Android App

पाहुना आएका साथीको हत्या, ८१ वर्षीय वृद्ध पक्राउ

मोरङको लेटाङ नगरपालिकामा पाहुना आएका साथीको हत्या गरेको आरोपमा वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा लेटाङ–२ फँडानीका ८१ वर्षीय डम्बरबहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार करिब ६० वर्षीय प्रेमबहादुर बुढाथोकीको हत्या आरोपमा उनलाई पक्राउ गरिएको हो । मृतक र अभियुक्त साथी–साथी रहेको प्रहरीले जनाएको छ । मृतक बुढाथोकी केही दिनयता हत्या आरोपी भुजेलको घरमा बसेका थिए । सोमबार बेलुका उनीहरूले सँगै मदिरा सेवन गरेका थिए ।

मदिरा सेवनपछि उनीहरूबीच विवाद भएको र विवादपछि बन्चरो प्रहार गरी हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।

सोमबार राति बुढाथोकीको शव भुजेलको आँगननजिकै भेटिएको थियो । बेलुका घरबाट शव घिसारेर बाँसघारीसम्म लैजाँदै गर्दा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले मृतकको शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।

Leave a Reply

Your email address will not be published.