Get Our Android App

के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ? टिकटकले बढाउँदैछ, भिखारी र सेलिब्रेटी !

काठमाडौं।

नेपालमा लाखौँ मानिसले टिकटक प्रयोग गरिरहेका छन् । यसको प्रयोगकर्ता दैनिक बढिरहेका छन् । नेता, कलाकार, पत्रकार, युवा सबै टिकटकमा झुमिरहेका छन् । सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटकले अहिले घरघरमै कलाकार उत्पादन गर्न थालेका छ !

 

सुरूमा यसलाई सबैले मनोरञ्जनका रुपमा लिन्थे । तर, अहिले यो आयआर्जनको स्रोत बन्न पुगेको छ । पाँच मिनेटसम्मको भिडियो बनाएर अपलोड गर्न मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ ।

 

सुरूमा यसमा १५ सेकेन्डको मात्रै भिडियो बनाउन मिल्थ्यो । लोकप्रियता बढेसँगै फिचरहरू थपिँदै गए । अहिले पाँच मिनेटसम्मको भिडियो बनाउन सकिन्छ । त्यसैगरी अहिले लाइभ बस्ने सुविधासमेत छ । निश्चित संख्यामा फ्लोआर भएपछि प्रयोकर्ता टिकटकमा लाइभ बस्ने र गेम खेल्ने सुविधा छ ।

 

लाइभ बस्नेलाई अरु प्रयोगकर्ताले गिफ्ट दिन मिल्छ । लाइभका बेला अरू प्रयोकर्ताले दिएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ । त्यसैले अहिले यसलाई धेरै प्रयोगकर्ताले आयआर्जको स्रोत बनाउँदै लगेका छन् ।

 

टिकटकबाट एक–दुई जनाले टन्नै पैसा कमाए भन्ने सुनेर अहिलेका युवापुस्ता त्यसैमा लागिपरेका छन् । टिकटकमा हिट हुने, आफ्नो फ्लोअर बढाउने, लाइभ बस्ने र पैसा कमाउने भोकले धेरैले अनेक हरकत गर्न थालेका छन् ।

 भाईरल हुने चक्करमा जस्तोसुकै जोखिम मोल्नसमेत तयार हुन्छन् । यीमध्ये कसैको मृत्युसमेत भएको पाइन्छ । सेती नदीमा टिकटक बनाउँदा एक युवतीको मृत्यु र दाङका एक युवा झोलुंगे पुलबाट खसेर मृत्यु यसैको उदाहण हुन् ।

 

टिकटकमा लाइभ बस्नेले पैसा कमाउन थालेको धेरै भएको छैन । केही महिना अघिदेखि मात्रै यसको चर्चा चल्न थालेको हो । अहिले टिकटक लाइभमा बसेर लाखौँ, करोडौं कमाएका हल्लाहरु सुनिन्छ । टिकटक लाइभबाट घर, गाडी र जग्गा किनेँ भनेरसमेत युट्युबमा अन्तवार्ता दिँदै हिँड्ने भेटिन्छन् ।

लाइभ बसेर एकैदिन चार–पाँच लाख कमाइ हुने उनीहरूको दाबी छ । दिनको सात–आठ घन्टा लाइभमा बस्दा महिनामा २५ देखि २६ लाख कमाइ हुने उनीहरूको अन्तर्वार्तामा सुन्न सकिन्छ । उनीहरूलाई सेलिब्रेटी भनेर सम्बोधन गरिन्छ । जसको धेरै फलोअर, उनै ठूलो सेलिब्रेटी ! उनीहरू आफैंलाई सेलिब्रेटी ठान्छन् !

 

टिकटक स्टार सेलिबे्रटी नै हुन् । मजस्ता एक–दुई जनाले सेलिब्रेटी नमाने पनि लाखौँले मानेका छन् । तर, ती सेलिब्रेटीको सबैभन्दा ठूलो काम हो– टिकटकमा लाइभ बस्ने अनि गिफ्ट माग्ने । उनीहरू कुनै राम्रो काम गरेर सेलिब्रेटी भएका होइनन्, अनेक हर्कत गरेर बनेका हुन् । उनीहरूको मुख्य उद्देश्य भनेको लाइभ बसेर गिफ्ट माग्ने अनि पैसा कमाउने । अर्थात उनीहरू भिखारी सेलिब्रेटी हुन् ।

 

आफ्नो फलोअर एक हजारभन्दा बढी भएपछि लाइभ बस्न मिल्छ । टिकटक लाइभ हेर्ने दर्शकले इमोजी उडाएर गिफ्ट पठाउन मिल्छ । गिफ्ट पठाउन क्वाइनले किन्नुपर्छ । त्यसपछि गिफ्ट पठाउन सकिन्छ । अरुले पठाएको गिफ्टबापत लाइभ गर्ने ब्यक्तिको खातामा पैसा आइरहेको हुन्छ । त्यसरी लाइभ गर्ने भिखारी सेलिब्रेटी बढ्दै गएका छन् ।

 

लाइभ बस्ने र गिफ्ट पठाउनेको संख्या धेरै भएपनि नेपालमा भने यो सुविधा छैन । लाइभ बस्ने नेपालीलाई गिफ्ट पठाउने भनेकै बाध्यताले विदेशिएका युवा हुन् । नेपालका लाखौँ युवा विदेशमा छन् । उनीहरूले गिफ्ट पठाउँछन् । त्यसैले टिकटकमा लाइभ गर्नेहरूले घर, गाडी र जग्गा किन्छन् ।

 

लाइभमा बसेर ‘मेरो मुटु, मेरो धड्कन, मेरो कलेजो’ भनेपछि मनकारी नेपाली दुई, चार डलर गिफ्ट दिन आनकानी गर्दैनन् । चाहे त्यो दाँतबाट पसिना निकालेर कमाएको पैसा होस् या जुवा जितेरै किन नहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *