Get Our Android App

काठमाडौंमा घर हुनेहरुका लागि सरकारले ल्यायो नयाँ नियम

काठमाडौ । यदि तपाई घर भाडामा बस्नुहुन्छ तर तपाईसंग घर धनीले बिलमा आएको भन्दा बढी विद्युत महशुल उठाउने गरेको छ भने तपाईका लागि खुसीको खबर छ ।

अब नेपाल विद्युत् प्राधिकरणले भाडामा बस्नेसंग बढी विद्युत महशुल उठाउने घर धनीको विजुली काटिदिने भएको छ । त्यसका लागि तपाईले विद्युत कार्यालयमा गएर निवेदन दिनुपर्ने हुन्छ ।

 

प्राधिकरणले हालसालै संशोधन गरेको विद्युत् महसुल संकलन विनियमावलीमा भाडामा बस्नेहरुका लागि यस्तो सुविधा ल्याएको छ । काठमाडौमा डेरामा बस्नेहरुले विद्युत महशुल विलमा आएको रकम भन्दा बढी तिर्नुपर्ने वाध्यात्मक अवस्था छ । घरधनीले अनेक वहानामा विद्युत महशुल विलमा उठेको रकम भन्दा धेरै पैसा भाडामा बस्नेहरुसंग उठाउने गरेको देखिन्छ । नयाँ नियमावलीमा डेरामा बस्नेसँग तोकिएभन्दा बढी महसुल लिएको पाइए लाइन काट्न सकिने उल्लेख छ ।

 

घर वहालमा बस्नेले प्रमाण सहित आएर निवेदन दिए घरधनीलाई बोलाएर छलफल गर्ने र अटेरी गरेमा लाइन काटिने प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख तथा उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए ।

 

विद्युत् महसुलको हिसाबमा भने घरबेटीले गडबडी गर्ने गुनासो धेरै पहिलेदेखि नै प्राधिकरणमा आउने गरेका कारण नियमावलीमा यस्तो ब्यवस्था गरिएको पनि उनले बताए । काठमाडौंमा धेरैजसो घरबेटीले विद्युत् महसुल १५ देखि २० रुपैयाँ प्रतियुनिटको दरले लिने गरेका छन् ।

 

जबकी प्राधिकरणको महसुल दर न्यूनतम ३ र अधिकतम १२ रुपैयाँ प्रतियुनिट मात्र उठ्ने गर्छ । घरबेटीहरुले डेरावालसँग चर्को विद्युत महसुल उठाउने प्रवृत्ति र यसबारेको गुनासो काठमाडौंमा मात्र नभएर देशभर नै रहेको छ । कतिपय घरबेटीले त उठेको युनिट र महसुलको हिसाब नै डेरावाललाई देखाउँदैनन् । त्यसैले घरबेटीले जति माग्यो उति दिनुपर्ने बाध्यतामा धेरै डेरावालहरु छन् ।

 

वितरण सेवाका प्रमुख सिलवालका अनुसार प्राधिकरणलाई तिर्नेभन्दा बढी महसुल घरबेटीले उठाउनु गैरकानूनी हो । ‘कानूनी र मानवीय दुबै हिसावले आफूले प्राधिकरणलाई तिर्नुपर्नेभन्दा बढी महसुल डेरामा बस्नेसँग उठाउनु हुँदैन,’ उनी भन्छन्, ‘कोही पनि नठगिउन् भनेर यस्तो व्यवस्था गरेका हौं ।’

 

कुल खपतका आधारमा बिजुली महसुल तोकिने भएकाले डेरामा बस्नेले त्यो हेरेर आफूले कति महसुल तिर्नुपर्ने हो भन्न एकीन गर्न सक्ने सकिने छ । ‘घरमा जोडिएको लाइनको क्षमताअनुसार कुल उठेको बिजुलीको युनिट जुन स्ल्याबमा पर्छ त्यहीअनुसार आफ्नो कोठाको सबमिटरमा उठेको युनिटको हिसावको महसुल तिर्दा हुन्छ,’ उनले भने,’उठेको युनिटका आधारमा सो स्ल्याबमा लाग्ने डिमान्ड शुल्क घरमा बस्नेहरुबीच औसत दरमा हिसाव गर्दा हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *