Get Our Android App

हत्या गरी सेफ्टी ट्यांकीभित्र शव लुकाउने पाँच जना पक्राउ


 

झापाको गौरादह नगरपालिकाका ४६ वर्षीय मबेसिर हुसेन मियाँलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको अभियाेगमा पाँच जना पक्राउ परेका छन्।

 

पक्राउ परेका तीन महिला र दुई पुरुषलाई इलाका प्रहरी कार्यालय दमकले सोमबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। पक्राउ पर्नेहरूमा गौरादह-५ का ३१ वर्षीय महम्मद सद्दाम, उनकी श्रीमती २८ वर्षीया सुमेरन खातुन, सोही ठाउँका २६ वर्षीय महम्मद सुलेमान, उनकी श्रीमती २२ वर्षीया रुक्सार खातुन र ३८ वर्षीया कुर्समान खातुन रहेको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए।

 

उनीहरूले व्यक्तिगत रिसिबीका कारण हत्या गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरीका अनुसार मबेसिर हुसेन मियाँ कात्तिक ११ गते बिहान ११ बजेदेखि हराएका थिए। श्रीमान् बेपत्ता भएपछि उनकी श्रीमती नुरजन खातुनले कात्तिक १४ गते इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएकी थिइन्।

 

प्रहरीमा निवेदन परेपछि प्रहरीले खेजी गरेको थियो। प्रहरी टोलीले कात्तिक २६ गते दिउँसो साढे २ बजे गौरादह-५ स्थित महमद सद्दामको घर खानतलासी लिएका थिए।

 

सद्दामको घरको दक्षिणतर्फको कोठाभित्र गेरु रङ्गले चारैतर्फको भित्री गारो पोतिएको, कोठाको झ्यालको पल्ला तथा ग्रीलहरूमा रगतजस्तो रातो पदार्थको छिटाहरू फेला पारेको थियो।

 

त्यस कोठादेखि दक्षिणतर्फ बाहिर रहेको शौचालयको सेप्टी ट्याङ्कीमाथिको गोबरको गुइँठाको चाङ हटाई सेप्टी ट्याङ्कीभित्र खोजी गर्दा मियाँको शव फेला परेको एसपी भट्टराईले बताए।

 

‘उनलाई धारिलो हतियार प्रहारबाट हत्या गरी कम्बलमा पोको पारी सेप्टी ट्याङ्कीभित्र फालिएको थियो,’ एसपी भट्टराईले भने, ‘दुर्गन्धित अवस्थामा फेला परेको शवलाई लाशजाँच मुचुल्का समेतको अनुसन्धान गरी पोस्टमार्टमको लागि शवलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा क्याम्प पठाएका थियौं।’

 

प्रहरीले घटनामा प्रयोग भएका घरेलु हतियार दाउ, छुरी र मार्तोललगायत प्रमाणयोग्य वस्तुहरू बरामद गरेको छ। घटनामा संलग्न पाँचै जनामाथि कर्तव्य ज्यान मुद्दा दर्ता गराई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको उनले बताए।

यो पनि, कोरोनाका कारण अमेरिकाका एक लाख ४० हजार बच्चा अभिभावक विहिन

 

३० कात्तिक : कोरोनाभाइरसको महामारीका कारण अमेरिकामा एक लाख ४० हजारभन्दा बढी बालबालिका अभिभावक विहिन भएका छन् । ‘विजनेश इन्साइडर’ले तयार पारेको प्रतिवेदनमा महामारीका कारण बालबालिको जीवनमा दिर्घकालिन असर परेको उल्लेख छ ।

 

 

सो प्रतिवेदन अनुसार देशका हरेक ५०० मध्ये एक जना अभिभावक विहिन हुनु परेको देखिएको छ । अभिभावक विहिन भएपछि बालबालिकाहरुले मनोवैज्ञानिक तथा आर्थिक समस्या भोग्नु परेको अधिकारीहरुले जनाएका छन् ।

 

अभिभावक गुमाएका बालबालिकाहरु मध्ये धेरै बालबालिकाहरु अल्पसङ्ख्यक तथा सानो समुदायका धेरै रहेको पाइएको छ । कोरोनाभाइरसको महामारीबाट अत्यधिक धेरै प्रभावित देशको अग्रसूचीमा अमेरिका पर्दछ । कोरोनाका कारण मृत्यु भएका, सङ्क्रमित भएका र अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या अमेरिकामै सवैभन्दा धेरै रहेको छ ।

 

कोरोनाभाइरसका कारण अमेरिकामा अहिलेसम्म सात लाख ६४ हजारभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *