Get Our Android App

साहित्यकार विजय बजिमयको निधन

साहित्यकार विजय बजिमयको आइतबार निधन भएको छ ।

 

शारीरिक रूपमा जन्मजात असक्त भए पनि कविता, कथा, गीत, गजल तथा मुक्तकका माध्यमबाट नेपाली साहित्यलाई विशिष्ट योगदान दिएका बजिमय २०१४ साल चैत २३ गते पोखरा मोहरिया टोलमा जन्मिएका थिए ।

विसं २०२९ मा ‘प्रजातन्त्र’ नामक कविताबाट लेखन सुरू गरेका लोकतान्त्रिक स्रष्टा बजिमयको ‘समय भनेको समय हो’ (कविता संग्रह), ‘अन्त्वतोगत्वा’ (कथा संग्रह) प्रकाशित थिए भने आधा दर्जन कृति प्रकाशनको तयारीमा थिए।

 

कवि कृसु क्षेत्रीका अनुसार राष्ट्रिय कविता महोत्सव, व्यथित काव्य पुरस्कार, युवा वर्ष मोती पुरस्कार, मानश्री पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार र गजलश्री सम्मानबाट सम्मानित बजिमयले दर्जनौँ साहित्यिक पत्रिकाको सम्पादन गरेका थिए।

 

बजिमय सांस्कृतिक संस्थानका अध्यक्ष, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य, वसुन्धरा मान प्रज्ञा प्रतिष्ठानका सदस्य, पोखरेली सांस्कृतिक परिवारका अध्यक्ष, नेपाली लेखक संघको केन्द्रीय नेतृत्वमा रहिसकेका थिए।

 

अविवाहित बजिमयको पार्थिव शरीरलाई दाहसंस्कारका लागि उनको जन्मथलो पोखरा लगिएको छ।

यो पनि, टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ ।

 

आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी गराएका छन् । प्रहरीको सी-६० कमान्डोले शनिबार गरेको सर्च अपरेसनमा दोहोरो भिडन्त भएको थियो ।भिडन्तपछि मिलिन्दसहित २६ जना माओवादीको शव बरामद भएको प्रहरीको भनाइ छ । मारिनेमध्ये २० जना पुरुष र ६ जना महिला छन् ।

 

प्रहरीले घटनास्थलबाट ९ वटा एसएलआर र ५ वटा एके-४७ सहित २९ हतियार समेत फेला पारेको छ । भिडन्तमा ४ जना प्रहरी कमान्डो घाइते भएका छन् ।

 

एलगर परिषद् घटनामा संलग्न रहेको आरोपमा मिलिन्दलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको थियो । महाराष्ट्रका विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको ठानिएका उनको टाउकाको मूल्य ५० लाख भारु तोकिएको थियो ।

 

मिलिन्द अभियन्ता एवं लेखक आनन्द तेलटुम्ब्डेका भाइ हुन् । एलगर परिषद् घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आनन्द हाल कारागारमा छन् ।

 

‘खतरनाक माओवादी’ भनेर चिनिने मिलिन्द फरार अभियुक्त सूचीमा समेत थिए । सन् १९९६ देखि नक्सलवादी आन्दोलनमा लागेका उनलाई सुरक्षा निकायले खोजिरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *