Get Our Android App

टाउकाको मूल्य ५० लाख तोकिएका भारतीय माओवादी नेता मारिए

सर्वाधिक खोजीको सूचीमा रहेका एक भारतीय माओवादी नेता प्रहरीसँगको मुडभेडमा मारिएका छन् । भारतीय माओवादी नेता मिलिन्द तेलटुम्ब्डे महाराष्ट्रको गडचिरोली जिल्लामा मुठभेडमा मारिएको भारतीय समाचार माध्यमले जनाएका छन् । प्रहरी कारबाहीमा मिलिन्दसहित २६ जना माओवादी कार्यकर्ता मारिएको जनाइएको छ ।

 

आइतबार महाराष्ट्र प्रहरीका एक वरिष्ठ अधिकारीले कोर्चीको जंगलमा मुडभेड भएको जानकारी गराएका छन् । प्रहरीको सी-६० कमान्डोले शनिबार गरेको सर्च अपरेसनमा दोहोरो भिडन्त भएको थियो ।भिडन्तपछि मिलिन्दसहित २६ जना माओवादीको शव बरामद भएको प्रहरीको भनाइ छ । मारिनेमध्ये २० जना पुरुष र ६ जना महिला छन् ।

 

प्रहरीले घटनास्थलबाट ९ वटा एसएलआर र ५ वटा एके-४७ सहित २९ हतियार समेत फेला पारेको छ । भिडन्तमा ४ जना प्रहरी कमान्डो घाइते भएका छन् ।

 

एलगर परिषद् घटनामा संलग्न रहेको आरोपमा मिलिन्दलाई प्रहरीले सर्वाधिक खोजीको सूचीमा राखेको थियो । महाराष्ट्रका विभिन्न हिंसात्मक गतिविधिमा संलग्न रहेको ठानिएका उनको टाउकाको मूल्य ५० लाख भारु तोकिएको थियो ।

 

मिलिन्द अभियन्ता एवं लेखक आनन्द तेलटुम्ब्डेका भाइ हुन् । एलगर परिषद् घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका आनन्द हाल कारागारमा छन् ।

 

‘खतरनाक माओवादी’ भनेर चिनिने मिलिन्द फरार अभियुक्त सूचीमा समेत थिए । सन् १९९६ देखि नक्सलवादी आन्दोलनमा लागेका उनलाई सुरक्षा निकायले खोजिरहेको थियो ।

 

यो पनि, काठमाडौँको थापाथलीमा हानाहान र लफडा, एयर गनसहित ७ जना पक्राउ

नेपाल रेडक्रस सोसाईटीको विशेष महाधिवेशनमा लफडा भएको छ । लफडा भएपछि विशेष विधान महाधिवेशन स्थगित भएको छ । थापाथलीस्थित कार्की ब्याङ्केटमा आयोजित विशेष महाधिवेशनमा असन्तुष्ट समूहले तोडफोड गरेपछि स्थगित भएको हो ।

 

विधान विपरीत कारबाही गरेका १६ जिल्लाबाट आएका रेडक्रस सम्बद्ध व्यक्तिहरुले तोडफोड गरेका हुन् । रेडक्रसका सभा विथोलिएपछि असन्तुष्ट समुहले ज्याकेट समेत कब्जा गरेर लगेको छ । उनीहरुले कर्सी समेत भाँचेका छन् ।

 

रेडक्रसले कारबाही गरेका १६ जिल्ला समितिबाट आएकाहरुले सभास्थल बिथोलेका थिए । रेडक्रसको विधि र विधान विपरीत काम गरेका,वैधानिक दायित्व पूरा नगरेका ती जिल्ला समितिहरु भंग गरेर विधान बमोजिम केन्द्रीय समितिले तदर्थ समिति गठन गरिदिएको थियो ।

 

सुनसरी, मोरङ,सिराहा, रौतहट, पर्सा, काठमाडौं, गोरखा, रोल्पा, जाजरकोट, रूकुम पश्चिम, हुम्ला, चितवन, बागलुङ, मकवानपुरलगायतका जिल्ला समितिहरुले काम नगरेपछि नयाँ तदर्थ समिति गठन भएको थियो ।

 

आइतबार रेडक्रसले संघीयता अनुकूल हुने गरी विधान संशोधन गर्नका लागि महाधिवेशन गर्न लागेको थियो । सभास्थल बिथोलेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।यस्तै, नेपाल प्रहरीले एयर गनसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले एयरगनसहित कैलालीका २१ वर्षीय जीतेन्द्र नाथलाई शनिबार थापाथलीबाट पक्राउ गरेको हो ।

 

पक्राउ परेका नाथले कोठामा अवैध हातहतियार लुकाइ राखेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा उक्त हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 

प्रहरीले उक्त हतियार काठमाडौं महानगरपालिका–११ थापाथलीमा रहेको नाथको डेराबाट बरामद गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *