Get Our Android App

‘ओलीजी हावादारी र मजाक कतिञ्जेलसम्म ?’

 

काठमाडौं । जनता समाजवादी पार्टीकी नेतृ मानुषी यमीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तथ्यमा रहेर आरोप लगाउन सुझाव दिएकी छन् ।



आइतबार अध्यक्ष ओलीले ‘बाबुराम भट्टराई भूमिगत हुँदा पनि उनका छोराछोरी बेलायत कसरी पढेका थिए ?’ भनेर प्रश्न उठाएपछि त्यसको जवाफमा नेतृ यमीले तथ्यमा रहेर आरोप लगाउन भन्दै राजनीतिलाई कतिन्जेलसम्म हावादारी र मजाक बनाउने भनेर प्रश्न गरेकी छन् ।

 

समाजिक सञ्जाल फेसबुक पेजमार्फत उनले भनेकी छन्, ‘पूर्व प्रम ओलीजी, अलिकति तथ्यसहित आरोप लगाउनु उपयुक्त होला । स्नातकोत्तर अध्ययनको छात्रवृत्तिमा छानिएपछि मेरी आमाले २०४९ सालमा मलाई पनि सँगै लिएर बेलायत जानुभएको हो । २०५१ मै हामी दुवै नेपाल फर्किसकेका थियौँ । हामी कुन आम्दानीको स्रोतबाट गएका थियौं, त्यहाँ हामी कस्तो अवस्थाबाट गुज्रियौँ भन्ने कुरा आमाको हालै प्रकाशित आत्मकथा ‘हिसिला’ को पेज नं. ४६ देखि ५१ सम्म उल्लेख गरिएको छ । कष्ट गरेर पढ्नुहोला । राजनीतिलाई कतिञ्जेल यस्तै हावादारी र मजाकको विषय बनाउने ?’

छोरी मानुषीअघि जसपाको संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो छोरी मानुषी यमी भट्टराई बेलायत पढ्न गएको प्रमाणित गर्न अध्यक्ष ओलीलाई चुनौती दिएका थिए ।

 

डा. भट्टराईले भनेका छन्, ‘मित्र खड्ग प्रसाद जी, पूर्व प्रम जस्तो मान्छेले तथ्यहीन उडन्ते कुरा गर्नु शोभनीय भएन । हाम्री छोरी मानुषी ७ वर्षको उमेरमा जनयुद्धपूर्व २०४९–५१ मा आमा हिसिला छात्रवृत्तिमा बेलायत पढ्न गएको बेलासँगै गएर संगै फर्केकी हुन् । त्यस यता उनी बेलायत गएको प्रमाणित गर्नोस् न !’

Leave a Reply

Your email address will not be published.