सेयर बजार साताको अन्तिम दिन बिहीबार पनि सकारात्मक नै भएको छ । यो साता पाँचै दिन नेप्से बढेको छ । यो साता मात्र नेप्से करिब २२५ अंकले वृद्धि भएको हो । बिहीबार पनि नेप्से सूचक १३.०४ अंकले बढेर २७८२.१७ मा बन्द भएको छ र ५ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बारम्बार तलमाथि गर्दै घम्साघम्सीका बीचमा अन्ततः सूचक दोहोरो अंकका साथ बढ्न सफल भएको हो ।
क्रेताहरु सकेसम्म घटाएर किन्न खोज्ने र बिक्रेताहरु पनि सकेसम्म सस्तो किन्न खोज्दा बजारमा दिनभर जसो सूचक कहिले हरियो त कहिले रातो हुने प्रवृत्ति चलिरह्यो । यसअघि सस्तो भाउमा सेयर किनेका अल्पकालीन कारोबारीले केही हदसम्म बिक्री गर्ने क्रम पनि जारी रह्यो । तर बजार समग्रमा बुलिस प्रवृत्तिमै देखिएकाले उनीहरुको सेयर खरिद गर्नेहरु पनि उत्तिकै सक्रिय देखिएको ब्रोकरहरुको भनाई रहेको छ ।
यस साताको सुरुदेखि नै लगातार बजार बढेकाले अल्पकालीन कारोबारीले केही मात्रामा नाफा बुक गर्न खोज्नु स्वभाविक भए पनि बढ्दो बजारमा क्रेताहरुको मनोविज्ञान पनि सकारात्मक देखिएको छ । सोही कारण बजार करेक्सन हुन खोजे पनि अन्ततः क्रेता पक्ष नै हावी भएका हुन् ।