Get Our Android App

पहिरोमा तीन छोरी गुमाएका तिलक भन्छन् : घर फर्किने मन छैन



 गुल्मीको रेसुंगा नगरपालिका–८ का ४४ वर्षीय तिलक परियार त्यो घरमा फर्र्किएका छैनन्, जुन घरमा तीन छोरी गुमाए। दशैं भर्खर सकियो। सबैले घर सिंगारेर चिटिक्क पारे, तर उनले घरतिर फर्किएर पनि हेरेनन्। पहिरोमा हुर्केका तीन छोरी गुमाए। ऋण खोजेर बनाएको घर क्षतबिच्छेद बन्यो। 

 

तिलकले गत असोज ५ गते राति घर माथिबाट खसेको पहिरोमा १४ वर्षीया गंगा–जमुना र २१ वर्षीया छोरी भावनालाई गुमाए। छोरीहरु गुमाएपछि उनी घर फर्किएका छैनन्। ‘ठूलो दुखले हुर्काएका छोरी नै छैनन्। मलाई त्यो ठाउँमा फर्किन मन छैन्,’ उनले भने, ‘फुटेको कर्मले भत्किएको घर कसरी उठाऊँ ?’ तिलकको परिवारले तीन छोरीहरुको अभावमा मुखमै आएको दशैं रोएरै बिताए।

 

तिलकले १२ वर्षको उमेरदेखि सिलाईकटाइको काम गर्दै आएका छन्। त्यही कामकै कारण गाउँबाट बजार आए। पाँच छोरीसहितको परिवारको व्यवस्थापन गरेर घर बनाउन निकै मुस्किल थियो। जात र ठूलो परिवारको कारण तम्घासमा कैयौं पटक कोठा पाएनन्। उनीसंग कोठाबाट निकालिनु परेको तिता अनुभव छन्। जसका कारण ऋण गरेर भएपनि सानो पक्की घर बनाए। भूगोलले उनको घर सजिलोमा थिएन। न त समथरमा घडेरी किनेर घर बनाउने आर्थिक अवस्था नै थियो। ‘घर परिवारको जोहोका बिच आर्थिक अवस्था सजिलो थिएन। त्यसैले अप्ठ्यारोमा घर बनाएँ,’ उनले भने, ‘जातले कोठा पाइन, विपन्नताले गर्दा राम्रो ठाउँमा घर बनाउन सकिन।’ 

 

चार जना छोरी एउटै कोठामा सुतेका थिए। अर्को कोठामा तिलक र श्रीमति लालमति थिए। राति एक्कासी घर माथिबाट पहिरो खस्यो। ढोका फोरेर एक छोरीको बल्लतल्ल उद्धार गरे पनि अन्यलाई बचाउन सकेनन्। पीडामा रहेका परियार अझै व्यावसायीक जीवनमा फर्किन सकेका छैनन्। उनी अहिले जेठी छोरीकोमा बसेका छन्। घरका सामान लिन पनि गएका छैनन्। ‘अब मैले राम्रो ठाउँमा घर बनाउने कल्पना पनि गरेको छैन। पीडा भुल्न व्यावसायलाई नै अगाडी बढाउने हो,’ उनले भने, ‘म मनोरोगी नहुन पनि व्यावसाय अघि नबढाउनुको अर्को विकल्प छैन।’

Leave a Reply

Your email address will not be published.