Get Our Android App

जलहरीमा ११ किलो सुन गडबडी, मुद्दाको तयारी

गत फागुन १२ मा सर्वोच्चले अन्तरिम आदेश दियो, त्यही बिहान अदालत नखुल्दै राष्ट्रपतिबाट पशुपतिनाथमा जलहरी उद्घाटन गराइयो । रहस्य खुल्दै छ– सुनमा तामा र चाँदी मिसाउन मात्र होइन, मिलेमतोमा सुन पचाउन कोषले यति हतार गरेको थियो ।

काठमाडौँ — पशुपतिनाथको ज्योतिर्लिङ्गमा राख्न बनाइएको जलहरीमा समेत सुन हिनामिना भएको विषयमा अख्तियारले मुद्दा दर्ताको तयारी गरेको छ । ८० करोडको सुन खरिदमा अनियमितता भएको प्रमाणसहित विशेष अदालतमा मुद्दा दर्ता गर्ने तयारी भएको हो । 

 

 

 

 

अहिलेसम्मको अनुसन्धानअनुसार कम्तीमा ११ किलो सुन गायब पारिएको छ । त्यस्तै जलहरीमा राखेको सुनमा अन्य धातु मिसावट भएको विषयमा पनि अख्तियारले प्राविधिक छानबिन अघि बढाएको छ ।

गत माघ १२ मा पशुपति दर्शनमा गएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ज्योतिर्लिङ्गको जलहरी सुनको बनाउन निर्देशन दिँदै आवश्यक बजेट सरकारले उपलब्ध गराउने वचन दिएका थिए । तर, इतिहासदेखि जलहरी चाँदीको रहेकाले सुनको राख्नु हुँदैन भन्दै संस्कृतिविद् र अभियन्ताले विरोध गरेका थिए ।

 

यो विषयमा वाग्मती प्रदेशका सांसद नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले १० फागुनमा सर्वोच्चमा मुद्दा दर्ता गरेका थिए । १२ फागुनमा सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले अन्तरिम आदेश दियो, तर त्यही बिहान अदालत नखुल्दै राष्ट्रपतिलाई पशुपति लगेर जलहरी उद्घाटन गराइसकिएको थियो । पशुपतिमा सुन चढाएर राजनीतिक फाइदा लिन सुरु भएको यो खेलमा आर्थिक स्वार्थहरू पनि जोडिएपछि यसले बेथितिको रूप लिएको हो । जलहरीलाई खँदिलो र बलियो बनाउन २४ क्यारेटको सट्टा २२ क्यारेट सुन प्रयोग गर्ने निर्णय भएको थियो ।

 

 

 

 

२२ क्यारेट सुन पनि सिधै किन्न पाइन्छ, तर कोषका पदाधिकारीहरूले २४ क्यारेटको सुन किन्ने र त्यसलाई पगालेर तामा र चाँदी मिसाई २२ क्यारेटको सुन बनाउने नीति बनाएका थिए । ‘तामा र चाँदी धेरै मिसाएर सुन दबाउने उद्देश्यले यस्तो भएको हो, हराएको सुन मात्र होइन, भएको सुनमा पनि अन्य धातु कति छ भन्ने मूल प्रश्न हो,’ कोषकै एक सदस्यको भनाइ छ । जलहरी निर्माणमा संलग्न नभएका कोषका सदस्यहरूले आर्थिक हिसाबकिताब मागेपछि अनियमितताका तथ्य एकपछि अर्को खुल्दै गएका हुन् ।

पशुपतिनाथ मन्दिरमा जलहरी राख्नुअघि गत फागुन ११ मा तयार गरिएको मुचुल्का । सुनको मात्रा लेखिएको अंक(रातो घेरामा) नै केरमेट गरिएको छ ।

 

कोषले जलहरी बनाउन राष्ट्र बैंकबाट १ सय ३ किलो सुन खरिद गरेको थियो । त्यसमा भएको ८० करोड खर्चमध्ये पशुपति क्षेत्र विकास कोषबाट ५० करोड र अर्थ मन्त्रालयबाट ३० करोड रुपैयाँ निकासा गरिएको थियो । १ सय ३ किलो सुन पगाली त्यसमा ३ प्रतिशत तामा र एक प्रतिशत चाँदी मिसाएर १ सय ८ किलो २२ क्यारेट सुन तयार भएको कोषको दाबी छ । तर, कोषले जलहरीमा भने जम्मा ९६ किलो ८ सय २२ ग्रामको सुन प्रयोग गरेको मुचुल्का बनाएको छ । बाँकी ११ किलो सुन कहाँ गयो ? अख्तियारले कोषका पदाधिकारी, कर्मचारी, कालिगड र बिचौलियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न लागेको हो । कोषका पदाधिकारीले १ सय ८ किलो सुन नै जलहरीमा प्रयोग भएको दाबी गरेका छन् । तर मुचुल्कामा भने ९६ किलो ८ सय २२ ग्राम सुन मात्र प्रयोग भएको उल्लेख छ । सुनको मात्रा लेखिएको अंक र अक्षर दुवै केरमेटसमेत गरिएको छ ।

 

कोषका तत्कालीन सदस्यसचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापासहितका पदाधिकारी, सदस्य एवं कर्मचारी र कालिगडको मिलेमतोमा सुनमा गडबडी गरिएको, तामाको काम गर्ने कालिगडलाई सुनको काम गर्ने जिम्मा दिइएको र ज्यालामा अनियमितता गरेकोलगायत विषयमा अख्तियारले जेठमा अनुसन्धान सुरु गरेको थियो ।

 

प्रारम्भिक छानबिनमा नै अनियमितता देखिएपछि यो विषयलाई अख्तियारले साउनमा विस्तृत अनुसन्धानमा लगेको हो । ‘अनियमितता देखियो, कोषका बहालवाला र पूर्वपदाधिकारी तथा कर्मचारीसहित ३० जनाभन्दा बढीसँग बयान नै लिइसकेका छौं,’ अख्तियार स्रोतले भन्यो, ‘अब ४/५ जनासँग बयान लिन बाँकी छ, दसैंलगत्तै त्यसलाई टुंग्याएर अनियमितता गर्नेविरुद्ध मुद्दा दर्ता हुन्छ ।’

 

Leave a Reply

Your email address will not be published.