Get Our Android App

वर्ल्ड लिंकका झन्डै ५ लाख ग्राहक, कुन कम्पनीका कति ?

नेपालमा १६ लाख ३२ हजार ७६४ ग्राहकहरूले विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीका इन्टरनेटहरू जडान गरेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले २०७८ साल असार महिनाको एमआइसएस प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा ४४ वटा कम्पनीले ग्राहकहरूलाई इन्टरनेट सेवा प्रदान गरिरहेको जनाएको छ ।

तीनै ४४ वटा कम्पनीहरूमा भर्खरै बजारमा आएको सिजिनेट पनि समावेश भएको छ । यस कम्पनीका ५६७ ग्राहकहरू रहेको प्रतिवेदनमा उल्लेख छ ।

वर्ल्ड लिंकले नेपालका विभिन्न जिल्लामा गरी ४ लाख ८५ हजार १३९ ग्राहक बनाएको छ भने दोस्रो स्थानमा रहेको नेपाल टेलिकमका २ लाख ९० हजार २३ ग्राहक छन् । यो सूचीमा मोबाइलबाट इन्टरनेट सेवा लिनेहरूको सङ्ख्या समावेश गरिएको छैन । केवल, वायरलेस र फाइवर इन्टरनेट जडान गर्नेहरूको सङ्ख्यामा मात्र यो सूचीमा समावेश गरिएको हो ।

तेस्रो नम्बरमा रहेको सुविसु केबल नेटका २ लाख १० हजार ५१३ ग्राहक छन् भने चौथो नम्बरमा रहेको क्लासिक टेकको १ लाख ५७ हजार ८८५ ग्राहक छन् ।

भायानेट १ लाख ४२ हजार १३१ ग्राहकका साथ पाँचौँ नम्बरमा रहेको छ भने यसपछिका सूचीमा अटाएकाहरूको ग्राहक सङ्ख्या १ लाख भन्दा कम छ ।

वेवसफर ७४ हजार ४२ ग्राहकका साथ सूचीको छैटौँ नम्बरमा छ भने चितवनबाट सञ्चालनमा आएको टेकमाइण्ड्स ६६ हजार ८३४ ग्राहकका साथ सातौँ नम्बरमा रहेको छ । सूचीको आठौँ नम्बरमा ४६ हजार २१८ ग्राहक भएको ब्रोडलिंक रहेको छ ।

शीर्ष १० स्थानमध्ये अन्तिममा डिस मिडिया नेटवर्क रहेको छ जसका १७ हजार ९६४ ग्राहक छन् भने नवौँ नम्बरमा बिराटनगरबाट सञ्चालनमा आएको कनेक्ट नेपाल नेटवर्क रहेको छ । यसका १८ हजार ५७० ग्राहक छन् ।

४४ वटा इन्टरनेट सेवा प्रदायक (आई एसपी) कम्पनीमध्ये कैलालीको धनगढीबाट सञ्चालनमा आएको शिखर नेट प्रालि का ३० जना मात्र ग्राहक छन् । यो सबैभन्दा कम ग्राहक सङ्ख्या भएको आई एसपी हो ।

Leave a Reply

Your email address will not be published.