नेकपा (एस) ले शेरबहादुर देउवा सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको जनाएको छ । पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार एस कुनै पनि बेला सरकारमा जान तयार रहेको र मन्त्री हुने व्यक्तिको टुंगो लागिसकेको छ ।
यद्यपि, उनले मन्त्री हुनेहरूको नामबारे खुलाउन चाहेनन् । नेता खतिवडाका अनुसार मन्त्री बन्नका लागि मापदण्ड भने बनिसकेको छ । “सबै प्रदेशबाट समेटेर मन्त्री बनाइनेछ । दुई-तीन पटक सांसद भइसकेकाहरू स्वतः मन्त्री बन्नेछन्,” मापदण्डबारे खतिवडाले भने, “महिला, भूगोल, सिनियर नेता समेटिनेछन् ।”
उनका अनुसार पार्टीको मापदण्डमा सांसदहरू भवानी खापुङ, विरोध खतिवडा, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ तथा पछिल्लोपटक नेपाललाई साथ दिएकाले प्रेम आले, कृष्णकुमार श्रेष्ठ (किसन) पनि मन्त्री बन्ने ‘लिस्ट’ मा छन् । आले र श्रेष्ठ मन्त्री नभए उनीहरूले सिफारिस गरेका सांसद मन्त्री बन्नेछन् ।
नेकपा (एकीकृत समाजवादी) कै अर्का नेताका अनुसार मन्त्री बन्ने विषयमा पार्टीभित्र विवाद पनि छ । केही सांसदहरूलाई मनाउने कोसिस भइरहेको ती नेताको भनाइ छ ।
“मन्त्रीका दाबेदार आठ÷नौजना हुनुहुन्छ । जम्मा पाँच/छ मन्त्रालय पाइन्छ । हामीलाई पनि केही नेतालाई सम्झाइबुझाइ गर्नका लागि समय चाहिएको छ,” ती नेताले भने, “कांग्रेसभित्र पनि समस्या छँदै छ । कसैलाई सचेतक बनाएर राख्नुप¥यो । पद व्यवस्थापनका लागि मनाउने काम भइरहेको छ ।”
सरकारमा पार्टीको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने निश्चित भइसकेको छैन । “नेतृत्व कसले गर्ने भन्ने टुंगो भने लागिसकेको छैन । वेदुराम भुसाल या मुकुन्द न्यौपाने कमरेडमध्ये एकजनाले गर्ने सम्भावना छ,” ती नेताले भने ।