Get Our Android App

एमसीसी विरुद्धमा आवाज उठाउन नेता, कार्यकर्ताहरुलाई भिम रावलको आहृवान

एमाले उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् ।काठमाडौंमा शनिबार छलफल कार्यक्रममा उपाध्यक्ष रावलले अस्थिर राजनीति भएको बेला एमसीसी सम्झौतालाई अघि सारिएको भन्दै अहिले त्यस्तै बेलामा संसद्‌बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरुको घरघरमा पुर्‍याउन लागेको पनि उनको भनाइ छ ।

उनले एमसीसी पास गरेर सरकारले देशलाई उपनिवेश बनाउन लागेको भन्दै त्यसको विरुद्धमा आवाज उठाउन पनि नेता, कार्यकर्ताहरुलाई आहृवान गरे ।

‘झिलिमिल हुन्छ यो देश भनेर जनतालाई भ्रम छरेर नेपाललाई उपनिवेशकरणको बाटोमा पुर्‍याइँदैछ । नेपाललाई पराधिन, उपनिवेश बनाउन पाइँदैन भनेर आ–आफ्नो ठाउँबाट आवाज उठाउनुस्,’ उनले भने, ‘जसरी बेलायतीहरुले भारतमा इस्ट इन्डिया कम्पनी खोले त्यो इस्ट इन्डिया कम्पनीभन्दा खतरनाक छ एमसीसी । जसरी अस्थिर राजनीति भएको बेलामा अगाडि बढाइयो, आज अस्थिर राजनीति भएको बेलामा अब यसलाई अनुमोदन गर्ने षड्यन्त्र हुँदैछ ।’

एमसीसी सम्झौता असमान भएको र सार्वभौमिक समानताको सिद्धान्तअनुरुप नभएको उनको भनाइ छ । एमसीसीको कतिपय प्रावधानहरुले नेपालको आत्मनिर्णयको अधिकार र स्वाधिनतामाथि हमला गर्ने पनि उनले बताए । एमसीसीको सम्बन्धमा नेपालका रेडियो तथा टेलिभिजनबाट विज्ञापन बजाएर राष्ट्रकै अपमान गरिएको उनले टिप्पणी गरे ।

Leave a Reply

Your email address will not be published.